
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुग्नु भएकाे छ ।
उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो । महाअभियोग समितिले आज (बुधबार) उहाँलाई बयानका लागि बोलाएको हाे । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ ।
उहाँलाई संघीय संसद सचिवालयका मर्यादापालकले सुरक्षा दिएर समितिमा लगेका थिए । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टका अनुसार महाअभियोगमा लागेका आरोपका विषयमा उहाँले बयान दिनुहुने छ ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगकाे विषयमा अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौ महिनाभित्र प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ ।
जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्