१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भावी प्रधानमन्त्रीमा पुरानै अनुहारको चर्चा

राजनीतिक वृत्तमा पुरानै अनुहारबाट मुलुकको राजनीतिले निकास नपाउने टिप्पणी

338
Shares

काठमाडौं ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा भावी प्रधानमन्त्रीका उम्मेद्वारको चर्चा सुरु हुन थालेको छ ।

नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष ओलीलाई प्रस्तुत गर्दा नेपाली कांग्रेसबाट आधा दर्जन आकांक्षी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनःप्रधानमन्त्री बन्ने चाहना पटक–पटक सार्वजनिक गरिसक्नुभएको छ ।

प्रमुख राजनीतिक दलहरुभित्रको समिकरण हेर्दा आसन्न निर्वाचनपछि पनि पुरानै अनुहारले सत्ताको बागडोर सम्हाल्ने प्रायः निश्चित छ । तर, राजनीतिक वृत्तमा भने पुरानै अनुहारबाट मुलुकको राजनीतिले निकास नपाउने टिप्पणी हुन थालेको छ ।

शनिबार सम्पन्न नेकपा एमालेको केन्द्रीय समिति बैठकले मुलुकको भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ । पछिल्लो समय नेपालको राजनीतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस जोडदार उठिरहेका बेला एमालेले भने लोकप्रिय नेतालाई घेराबन्दीमा पारेर सत्ताबाट हटाउँदा फेरि जनताले सत्तामा ल्याउँछन् भन्ने सन्देश दिन ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको तर्क गरेको छ ।

एमाले बाहेक अन्य दलहरुले औपचारिक रुपमा भावी प्रधानमन्त्रीमा नाम अघि सारेका छैनन् । तर, पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनःप्रधानमन्त्री बन्ने चाहना सार्वजनिक रुपमै प्रकट गरिसक्नुभएको छ । माओवादी केन्द्रका कतिपय नेताहरुले त गठबन्धनबाट भावी प्रधानमन्त्री दाहाल नै भएको दावी गर्न थालेका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा आधा दर्जन नेताहरुले भावी प्रधानमन्त्रीको लागि आकांक्षा देखाएका छन् । ७ पटक मुलुकको प्रधानमन्त्री बन्ने विश्वासमा रहनुभएका कांग्रेस सभापति शेरवहादुर देउवा भावी प्रधानमन्त्रीको स्वाभाविक आकांक्षी हुन् । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा.शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइरालाले प्रधानमन्त्रीको आकांक्षा राख्नुभएको छ ।

आकांक्षीमध्ये पार्टीभित्रको शक्तिका कारण पनि देउवाको नै सम्भावना बढी देखिन्छ । राजनीतिमा कुनै अप्रत्याशित परिदृष्य नदेखिए आगामी आमनिर्वाचनपछि पनि देउवा, ओली र दाहालमध्ये एकजना नै प्रधानमन्त्रीको रुपमा देखिने निश्चित छ । मुलुकको राजनीतिमा विद्यमान विकृति-विसंगति र त्यसले जन्माएको अन्त्य पुरानै अनुहारबाट समाधान होला त भन्ने बहस पुनःसुरु भएको छ ।

आमनागरिकले राजनीतिमा नयाँ पुस्ताको अपेक्षा गरिरहेको शन्र्दभमा पुरानै पुस्ताले मुलुकको शासनसत्ताको बागडोर सम्हाल्ने तयारी गर्दा राजनीतिप्रतिको बितृष्णा झन् बढ्ने र यसले मुलुकको लोकतन्त्र र विधिको शासनमा चुनौती थपिनसक्ने आशंका हुन थालेको छ ।