
एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ।
फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् ।
रणवीरले फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने कृतिले फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् । यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्रा र कियारा अड्वानी अभिनित फिल्म ‘शेरशाह’ले जितेको छ । फिल्म ‘शेरशाह’ को कथा परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्राको जीवनमा आधारित छ । विक्रमले पाकिस्तानसँगको कारगिल युद्धमा महत्वपूर्ण भूमिका खेलेका थिए । यो फिल्मलाई विष्णुवर्धन पुरीले निर्देशन गरेका थिए ।
फिल्म शेरशाहबाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् भने उत्कृष्ट गीत लेखनको अवार्ड कौसर मुनिरले प्राप्त गरेका छन् । उत्कृष्ट गीत लेखनको अवार्ड पहिलोपटक महिलालाई दिइएको हो ।
फिल्म ‘सरदार उधम’बाट विक्की कौशलले क्रिटिक्स उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् । त्यस्तै क्रिटिक्स उत्कृष्ट अभिनेत्री फिल्म ‘शेरनी’बाट विद्या बालनले अवार्ड जितेकी छन् । फिल्म ‘९९ सङ्स’बाट एहान भट्ट डेब्यू अभिनेता र शरवरी बागले फिल्म ‘बन्टी और बबली २’ बाट डेब्यू अभिनेत्रीको अवार्ड जितेकी छन् ।
रणवीर सिंह र अर्जुन कपूरले होस्ट गरेको अवार्ड समारोहमा वरुण धवन, कियारा अड्वानीलगायत कलाकारले प्रस्तुति दिएका थिए।
प्रतिक्रिया दिनुहोस्