८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


उब्रिएको सिट मात्रै दिने कुरा स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल


3.016k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरुले आगामी निर्वाचनका लागि बाँकि रहेको सिट मात्रै आफूहरुलाई दिने कुरा स्वीकार्य नहुने बताउनुभएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालयमा युवा संघ नेपालले ‘महाकाली–मेची युवा जागरण अभियान–२०७९’को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा उब्रिएको सिट मात्रै आफूहरुलाई दिने कुरा स्वीकार्य नहुने बताउनुभएको हो ।

उहाँले गठबन्धन बनाउनका लागि आफ्नो पार्टीले खेलेको भुमिकालाई नजरअन्दाज नगर्न चेतावनी दिनुभयो । उहाँले गठबन्धन दुवै पक्षलाई फाइदा हुनका लागि गरिएको उल्लेख गर्दै आफूहरुलाई फाइदा नभएमा कसैको निम्ति भ¥याङ नबन्ने स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले आफूहरुले पाँचदलीय गठबन्धनलाई हातेमालो गर्दै अगाडी बढाउन चाहेको बताउनुभयो ।

उहाँले संकटको बेलामा साथ दिने सहयात्रीलाई अवमूल्यन गर्नु नहुने बताउनुभयो । अध्यक्ष नेपालले सिट बाँडफाँटको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको पनि स्पष्ट पार्नुभयो ।

युवासंघ नेपालले पत्रकार सम्मेलनमार्फत महाकाली–मेची युवा जागरण अभियान–२०७९ घोषणा गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा खर्चिला, भड्किला निर्वाचन प्रचार कार्यक्रम तथा उम्मेदवारहरुलाई बहिष्कार गर्न र पार्टीको निर्वाचन चिन्ह कलममा मत माग्ने उद्देश्यले भाद्र १५ गतेदेखि २३ गतेसम्म अभियान सञ्चालन गर्न लागेको युवा संघ नेपालले जनाएको छ । अभियानको मुल नारा ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ रहेको छ ।