६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सेवाग्राहीकाे आलोचनापछि ललितपुर महानगरमा पार्किङ निःशुल्क

मापदण्ड विपरित बनाएका संरचना हटाउने महानगरकाे योजना

1.586k
Shares

काठमाडौं । काठमाडौंमा अवैध पार्किङ हटाउने क्रम तीब्र चलिरहदा ललितपुर महानगरपालिकाले भने आफ्नै हाता अगाडिको पार्किङ निःशुल्क गरेको छ ।

महानगरको १७ औं कार्यपालिका बैठकले सडक किनाराको पार्किङकाे लिदै आएकाे शुल्क हटाउने निर्णय गरेको हो । पार्किङ निःशुल्क अभियान महानगरभित्र निरन्तर चलाइनुका साथै अवैध संरचना भत्काउने र बेसमेन्ट पार्किङ खाली गराउने कामलाई तीब्रता दिइने महानगरले जनाएकाे छ ।

महानगरमा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना गरेपछि १५ गतेबाट निःशुल्क पार्किङ सेवा सञ्चालन गर्ने महानगरले व्यवस्था गरेकाे हाे ।

शुल्क हटेसँगै यहाँ २ सय २५ वटा मोटरसाइकल एकतर्फी रूपमा महानगरका सेवाग्राही र अन्यले निःशुल्क पार्किङ गर्न पाउने छन् । यसअघि सार्वजनिक सडकमा जथाभावी सवारी शुल्क लिंदै आएको गुनासो बढेपछि महानगरले कुमारिपाटी, पाटन हस्पिटल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात अगाडि, कुपण्डोल हनुमानस्थान, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ निःशुल्क गरेको छ ।

यसअघि महानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि १५ गतेबाट निःशुल्क पार्किङ सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ । यसैगरी महानगरपालिकाले जावलाखेलस्थित फुटबल मैदानसँगै रहेको पार्किङ्गलाई हटाइ पैदल यात्रु हिंड्न र आराम गर्न मिल्ने गरी ब्यवस्थित गरेको छ । महानगरको यो कदमबाट सवारी साधन पार्किङ्ग गर्न आउने नागरिकले खुशी प्रकट गरेका छन् ।

सडकका दुवै किनारमा सवारी साधन पार्किङ गरिंदा सवारी साधन र पैदल यात्रीको आवागनमा ठूलो समस्या देखिदै आएको छ। शहरकाभित्री सडकमा देखिने ट्राफिक समस्याले मुख्य सडक प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि महानगरले जथाभावी पार्किङ गर्ने माथि कठोरतापूर्वक कारबाही गर्ने नीति लिएको छ ।

यद्यपि पर्याप्त पार्किङ छुट्याएका कारण ललितपुरमा ठूलो समस्या नरहेको महानगरको दावी छ । महानगरले पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृति लिएका व्यापारिक भवनको अनुगमन भइरहेको र मापदण्ड विपरित अन्य ब्यापारिक प्रयोजनका लागि बनाइएका संरचना हटाइउने योजना बनाएको छ ।

काठमाडौं महानगरले नियमित विपरीतका संरचनामा धावा बोलिरहँदा ललितपुर महानगरले त्यही मानसिकतामा काम अघि बढाएन भने त्यो अभियान अपूराे हुनसक्छ । उपत्यकाको सामाजिक, सांस्कृतिक र विकासको एजेण्डामा काठमाडौंसँग काँधमा- काँध मिलाएर काम गर्ने महानगर नेतृत्वले आफ्नो बचनलाई साकार पार्न पनि भोटको राजनीतिबाट माथि उठ्न जरुरी छ ।