१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आउँदै


403
Shares

काठमाडौं । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी भइरहेका बेला उत्तरी छिमेक चीनबाट उच्च तहको भ्रमण हुन लागेको छ ।

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले तीन दिने भ्रमणमा नेपाल आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयका अनुसार सीले भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्ने बताइएको छ ।

उहाँ प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लाग्नुभएको हो । सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिनुभएको थियो ।

केही दिनमा उक्त भ्रमणको विषयमा औपचारिक घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । ली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ नेता पनि हुनुहुन्छ । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता मानिनुहुन्छ ।

तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्नुहुन्छ ।चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुनुहुन्छ । सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गर्नुभएको थियो ।

चीनबाट पछिल्लो समय पटक–पटक नेपालको भ्रमण भइरहेको छ । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो भने त्यसपछि चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमणमा आउनुभएको थियो ।

हालै नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले पनि चीनको भ्रमण गर्नुभएको थियो । लीले सभामुख सापकोटासहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।