
काठमाडौं । म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई निर्वाचनमा धाँधलीको आरोपमा थप तीन वर्षको जेल सजाय सुनाएको छ ।
सुकीलाई अहिले ११ वटा मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । जसमा अझ धेरै आरोपहरूबारे सुनुवाई हुन बाँकी छ । तर, उहाँले सबै आरोपहरू अस्वीकार गर्दै आउनुभएको छ । उहाँविरुद्धको सैन्य अदालतको कारबाहीलाई अधिकार समूहहरूले राजनीतिक रूपमा प्रतिशोध साध्न प्रेरित भएको भन्दै निन्दा गरेका छन् ।
लागेका सबै आरोपमा दोषी ठहरिएमा उहाँले लगभग २०० वर्ष जेल सजाय भोग्नु पर्ने हुनसक्ने समाचारमा उल्लेख छ । सुकीले पाएको नयाँ सजायमा कडा परिश्रम समावेश भएको बताइएको छ । नोबेल पुरस्कार विजेतासमेत रहेकी ७६ वर्षीया सुकीले आफ्नो अधिकांश समय राजधानी नेपी तावमा नजरबन्दमा बिताउनुभएको छ ।
सुकीविरुद्धको सुनुवाईमा जनता र मिडियालाई पहुँच छैन । सेनाले उहाँका वकिलहरूलाई पत्रकारसँग बोल्नसमेत रोकेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्