
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि म्याग्दीमा चुनावी माहोल तात्दै गएको छ ।
दलहरुले उम्मेदवार सिफारिस गर्नेदेखि विभिन्न किसिमका भेला तथा कार्यक्रमहरु गाउँगाउँमा नै गएर अयोजना गरिरहेका छन् । चुनावलाई लक्षित गरेर म्याग्दीमा चहलपहल बढेको छ । निर्वाचन आउन अब साढे दुई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको हो ।
जिल्लामा क्रियाशील सबै दल टोल, वडा, गाउँ र नगरपालिका क्षेत्रमा कमिटी गठन, पुनर्गठनमा लागेका छन् । चुनावको तयारीका लागि जिल्लाका सक्रिय राजनीतिक दलका नेताहरु कार्यकर्ता तथा मतदाताको अपेक्षा बुझ्नका लागि गाउँ पसेका छन् । कांग्रेसले सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सकेर गत शुक्रबारदेखि ‘जनताको साथमा कांग्रेस’ नामक एक महिने अभियान सञ्चालन गरेको छ ।
जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकर्ता भेला, सङ्गठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारीसहित रणनीति निर्माण लगायत कार्यक्रम सकेर ‘जनताको साथमा कांग्रेस’ अभियानलाई तीव्रता दिइएको जिल्ला कार्य समितिका सचिव हिराबहादुर पुनले जानकारी दिए ।
जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आगामी मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन पार्टी पङ्क्तिलाई चुस्त रुपमा परिचालन गर्ने बताए । निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न उनले निर्देशन दिएका छन् ।
वर्तमान सरकारले गरेका कामको प्रचारप्रसार, पार्टीको नीति ,विचार, सिद्धान्त तथा कार्यक्रमका बारेमा सबै नागरिकलाई बुझाउन आवश्यक रहेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए । नेकपा एमालेले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ ।
नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाइ सिफारिस समेत गरिसकेको छ ।
एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै छ वटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन भइसकेको बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीबाट १४ जना आकांक्षीहरु देखिएका छन् ।
बुधबार बेनीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्षतर्फ सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,सविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति केवी भण्डारी र पुर्व सह–सभापति नेत्रबहादुर महतले प्रतिनिधि सभा टिकटका लागि नाम टिपाउनुभएको छ ।
त्यस्तै, समानुपातिकतर्फ निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी, सचिव हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा ,विनाकुमारी खड्का, मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर,भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पूर्जा र त्रिलोकचन्द विश्कर्माले नाम टिपाउनुभएको कांग्रेस म्याग्दीले जनाएको छ ।
भोली शनिबार थप छललफल गरेर मात्र आकांक्षी उम्मेदवारहरुको नामावली प्रदेशमा सिफारिस गर्ने सचिव हिरबहादुर पुनले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्