
चन्द्र कटुवाल
योगनिन्द्राको अर्थ आध्यात्मिक निन्द्रा हो । यो निन्द्रा र जागा अवस्थाको बिचको अवस्था हो । न त पूरै निन्द्रामा न त पूरै जागा रहेको अवस्था हो । देवताहरू पनि यस निद्रामा सुत्छन् भन्ने मान्यता रहेको छ ।यो योगको प्राचीन बिधि हो ।
योगनिन्द्रालाई गाईडेड ध्यान पनि भनिन्छ । हेरक योग अभ्यास पछि सवासनमा गएर योग निन्द्रा गर्नु उत्तम मानिन्छ । तर सिधै योग निन्द्रा पनि गर्न सकिन्छ । तर पनि योगनिन्द्रा सुरु गर्नुभन्दा पहिला शरीरलाई हल्का तताउन आबश्यक हुन्छ । हाम्रो शरीरलाई कसरत तथा सिथिलिकरण दुबै आवश्यक हुन्छ ।
यसका फाईदाहरु : यो शरीरलाई आनन्द महशुस गर्न तथा थकान पीर चिन्ता हटाउनका लागि निकै महत्वपूर्ण बिधि मानिन्छ । यसलाई तनाव व्यवस्थापनको लागि उत्तम बिधि मानिन्छ भने यसका अनेकौ लाभ रहेका छन । यसले बिस्तारै ध्यानको उच्चावस्था तर्फ लैजान पनि मद्दत गर्दछ । शरीरलाई शिथिल बनाई बिभिन्न किसिमका मानसिक तथा शारीरिक समस्याहरु हल गर्न पनि मद्दत गर्दछ ।
बिधि : योगनिन्द्रा गर्दा शवासन नै जरुरी छ भन्ने त हैन तर शवासनमा अरुभन्दा धेरै सहज हुन्छ । त्यसैले शवासनमा अझ बढि लाभ लिन सकिन्छ । योग निन्द्राको विधि गर्दा सुरुमा म्याटमाथि उत्तानो परेर सुत्ने र खुट्टालाई फराकिलो पार्ने । त्यसपछि हातलाई गोजी भन्दा केहि पर हत्केलालाई आकाश तर्फ फर्काएर राख्ने । यसैगरी आँखालाई कोमल रुपमा बन्द गर्ने । शरीरलाई जतिसकिन्छ सहज पार्ने । शरीरलाई असहज पार्ने बस्तुहरु हटाउँने र गहिरो लामो श्वास लिने र छोडिदिने । श्वास भित्रलिदा उर्जालिएको महशुस गर्ने र श्वास बाहिर फ्याँक्दा चिन्ता तनाव नकरात्मक भावना बाहिर फ्याक्ने ।
प्रत्येक श्वास प्रश्वाससँगै शरीरलाई शिथिल छोडिदिने, शरीर हलचल नगर्ने । केवल श्वास प्रस्श्वास र चेतनालाई मात्र ध्यान दिने । त्यसपछि आवाजहरु सुन्ने, चराहरुको आवाज, मानिसहरुको आवाज अलि कडा आवाज र नरम आवाज । अब चेतनालाई सबैभन्दा नजिकको आवाजमा ल्याउँने र सबैभन्दा नजिकको आवाज भनेको आफ्नै श्वास प्रश्वास र रक्तसंचारको आवाज हो ।
अब बिस्तारै ध्यानलाई दाहिने हात तर्फ ल्याउने । दाहिने हातका औलाहरुलाई गहिरो बिश्राम दिने । दाहिने खुट्टा र औंलाहरुलाई बिश्राम दिने र वाँयातर्फ ध्यान दिने । बाँया हातका औलाहरुलाई गहिरो बिश्राम दिने, बायाँ खुट्टा तथा औलाहरुलाई बिश्राम दिने । अब ढाड गर्धन तथा सम्पूर्ण पिठ्यूलाई गहिरो बिश्राम दिने । त्यसैगरी यसपछि अगाडि तर्फ ध्यान दिने, शिर आँखा मुख घाटि छाती नाभी लगायत सम्पूर्ण अगाडिको भागलाई गहिरो बिश्राम दिने ।
अब सम्पूर्ण शरीर बिश्राम भैसकेको छ । चेतनालाई घुमाउँने । सेतो हिमाल सम्झिने । निलो समुन्द्र सम्झिने, हरियो चौर सम्झिने । सुन्दर बगैंचा सम्झिने । त्यहि सुन्दर बगैंचामा आफू गउको कल्पना गर्ने । रङ्गि चङ्गि फूलहरु अवलोकन गर्ने । बिस्तारै अगाडि बढ्ने । चारै तिर ध्यान अवलोकन गर्दै अगाडि बढ्ने । केहि अगाडि एउटा चौर छ । त्यो चौर तर्फ जाने । खाली खुटा जाने । खालि पैतालाले जमिनमा स्पर्श गर्ने । बिस्तारै अगाडि बढ्ने । अगाडि चौरमा एउटा म्याट बिछाईएको छ । त्यसैमा गएर उत्तानो परेर सुत्ने । शवासनमा जाने । आकाश तर्फ हेर्ने । निलो आकाश र सफा आकाश । कतै पनि बादल छैन । त्यहि कञ्चन आकाशतर्फ हेरि रहने ।
आकाशबाट एउटा चम्किलो बस्तु आफूतर्फ आउदै छ । त्यो चम्किलो बस्तु तारा जस्तै छ । त्यो अति सानो तर अत्यधिक चम्किलो छ । बिस्तारै त्यो आफ्नो निधारको बिच भागबाट भित्र छिर्दै छ । त्यसले शरीरमा एककिसिमको तरंग पैदा गरेको छ । पुरै शरीर आनन्दित भएको छ । बिस्तारै मनमा भएका पीर चिन्ता तनावहरु त्यो ज्योतिले भष्म पार्दै छ । ति सबै नकारात्मक बिचारहरु कानबाट कालो धुँवाबनि बाहिर निस्किदै छन् । शरीर झन हलुङ्गो हुदैछ । बिस्तारै त्यो ज्योति शरीरतर्फ फैलदै छ । शरीरमा भएका बिभिन्न समस्याहरुलाई निराकरण गर्दै छ । शरीरका भित्रि अंगहरु लाई मजबुत तथा स्वस्थ पार्दै छ । बिस्तारै छाति कम्मर हुँदै दुबै पिडौलातर्फ गईरहेको छ । बिस्तारै बिस्तारै दुबै बुढिऔलाबाट कालो धुवा बनि बाहिर गई सकेको छ । अब केवल शरीरमा सकारात्मक उर्जामात्र बाँकि छ ।
अब बिस्तारै हात खुट्टाका औंलाहरु चलाउँने । शिरलाई बिस्तारै दायाँ बाया हल्लाउँने र दुबैहातका हत्केला एकअर्कामा घर्षण गराउने तथा आँखामा लगाउने । बिस्तारै दायाँ कोल्टे फर्कने र उठेर बस्ने । तिन पटक ॐ को उच्चारण गर्ने । ॐ को तरंग शरीर भरी फैलिएको महशुस गर्ने ।
अन्त्यमा शवासनमा जाने र गहिरो लामो श्वास र प्रश्वास लिने । श्वास लिदा बाहिरबाट उर्जा लिएको महशुस गर्ने तथा श्वास फाल्दा शरीर शिथिल भएको महशुस गर्ने ।
प्रतिक्रिया दिनुहोस्