१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सिन्धुलीमा जापान सरकारको सहयोगमा बनेका भवनहरू जीर्ण बन्दै


2.496k
Shares

सिन्धुली । सिन्धुलीको कन्दमुल तरकारी विकास केन्द्रमा रहेका सरकारी ठूला भवनहरु जीर्ण हुन थालेका छन् ।

२०३४ सालमा सिन्धुली जिल्लामा जुनार उत्पादन र विकासका लागि जापान सरकारको सहयोगमा निर्माण गरिएका तत्कालीन कृषि फर्मका करोडौं मूल्यका भवनहरु यतिखेर उचित स्याहार सम्भारको अभावमा जीर्ण बनेका हुन् ।

२०३४ सालमा मित्र राष्ट्र जापान सरकारले सिन्धुली जिल्लाको जुनारखेतीलाई आधुनिक ढंगले विकास र विस्तार गर्नका लागि जिल्ला सदरमुकाम माडी बजारको मधुटारमा जुनार उपकेन्द्र बनाई दिएको थियो ।

करिब ७ हेक्टर क्षेत्रफलको जमिनमा जापानिज मोडलमा १५ वटा भन्दा बढी भवनहरु बनेकामा कार्यालय संचालन, गोदामस्टोर, तालिम हल, पालेघर, मोटरघर, गेष्टहाउस र बाथरुम लगायतका विभिन्न प्रयोजनका लागि भवनहरु निर्माण गरिएका थिए ।

तत्कालीन अवस्थामा जापानले नेपाल सरकारलाई ती भवनहरु निर्माण गरेर साँचो समेत हस्तान्तरण गरेकाे थियाे । सिन्धुलीको रत्नचुरामा जुनार खेतीलाई आधुनिक रुपमा नर्सरीको स्थापना गरी विकास र विस्तार समेत गरेकाे थियाे ।

तर जापानले सबै कामकाजहरु नेपाल सरकारको कृषिसँग सम्बन्धित कार्यालयहरुलाई क्रमबद्ध रुपमा हस्तान्तरण गरेपछि सिन्धुलीमा निर्माण गरिएको सिन्धुली कृषि फार्मका चम्केका भवनहरुमा अध्यारो पर्दै गएकाे छ ।

सिन्धुलीकाे सदरमुकाम माडी बजारमा रहेका भवनहरुमा मध्ये सबैभन्दा सुविधा सम्पन्न भवनहरु आजकल जापानिजहरुको अभाव समेत जीर्ण बनेका छन् । जापानले सित्तैमा निर्माण गरिदिएका भौतिक संरचनाहरुलाई समेत आवश्यक ठानी संरक्षण गर्न नसकेर सडेर जाने अवस्थामा पुगेका छन ।

तत्कालीन अवस्थामा कुल ३२ लाखको लागतमा निर्माण भएका ती भौतिक संरचनाहरु यतिखेरको अवस्थामा ३० करोडमा पनि बन्न सक्दैनन् । जापानिजहरुले बनाई दिएका साेही भवनहरुमा आजकल जेनतेन रुपमा तरकारी तथा कन्दमूल विकास केन्द्रको कार्यालय संचालनमा रहेको छ । साथै २ वटा तालिम हलहरुमा कार्यक्रमहरु समेत दु:ख-सुख संचालन हुने गरेका छन् ।

जापानिजहरु सिन्धुलीमा जुनारको काम काजमा आईरहदाका दिनमा ती भवनहरुको अवस्था सामान्य नै रहेको थियो । तर, जापानिजहरुले आफ्नो कार्यक्रमको समय समाप्त भएर सरकारलाई हस्तान्तरण गरेपछि साेही भवनहरुमा अहिले जीर्ण बनेका छन् ।