१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बोर्डको काम शो दिने नभइ नीति निर्माण गर्ने हो : अध्यक्ष के.सी.


819
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन के.सी.ले चलचित्र विकास बोर्डले शो दिने होइन भनेर बुझिदिन आग्रह गरेका छन् ।

शुक्रबार चलचित्र ‘सम्हाल्निछ कहिले मन’ को प्रिमियर शो हेरेपछि अध्यक्ष के.सी.ले चलचित्र विकास बोर्डले चलचित्रको शो दिने भन्ने कुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताएका छन् ।

उनले चलचित्रि विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै चलचित्रले शो धेरै पाउने र कुनै चलचित्रले कम शो पाउने जस्तो कुरा नुबुझ्न आग्रह गरेका छन् । केसीले चलचित्र विकास बोर्डले शो दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्डले सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्ने र नबुझेकालाई बुझाउन तयार रहेको बताएका छन् ।

उनले कलाकारहररूले नै कतिपय ठाउँमा चलचित्र ‘प्रेमगीत ३’ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाएका छन् । कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न उनले सबैलाई आग्रह समेत गरेका छन् । चलचित्र ‘प्रेमगीत ३’ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि पछि नहट्ने उनको भनाइ छ ।

नेपाली चलचित्र ‘सम्हाल्निछ कहिले मन’शुक्रवारबाट देशभर प्रदर्शनमा आएको हो । चलचित्रले शुक्रवार साँझसम्म राम्रो प्रतिक्रिया पाएको निर्देशक र कलाकार टिमहरूले बताएका छन् । दर्शकसँग चलचित्र हेरेपछि अभिनेत्री पूजा शर्माले चलचित्र दर्शकले मन पाराउनु नै राम्रो भएको प्रतिक्रिया दिएकी हुन् । उनले चलचित्र राम्रो रहेकोले हलसम्म पुगेर हेरिदिन आग्रह समेत गरेकी छन् ।

त्यस्तै,अभिनेता आकाश श्रेष्ठले समग्र टिमले चलचित्र राम्रो दिनको लागि निकै परिश्रम गरेकोले एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताएका छन भने यही चलचित्रबाट डेब्यू गरेका अर्का अभिनेता सोनम तोप्देनले दर्शकहरूले अभिनयको राम्रो प्रतिक्रिया दिइरहेको बताएबा छन् । पहिलो पटक अभिनय गरेपनि कुनै कठिनाइ नभएको तोप्देनले बताए । साथै निर्देशक सुदर्शन थापाले दर्शकले दिएको प्रतिक्रियाले धेरै खुशी भएको र चलचित्र सबैलाई मन परेको बताएका छन् ।

यस फिल्ःम त्रिकोणात्मक प्रेममा आधारित रहेको छ । फिल्ममा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र गायनबाट अभिनयमा प्रवेश गरेका सोनम तोप्देनको मुख्य भूमिका रहेको छ । चलचित्रको छायांकन अधिकांश यूकेमा भएको हो ।