
पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेले राजनीतिक दलहरुबीचको गठबन्धन मुलुकका लागि घातक हुने बताउनुभएकाे छ ।
पर्वतकाे सदरमुकाम कुश्मा बजारमा शनिबार आयोजित पार्टीको जिल्ला भेलालाई सम्बाेधन गर्दै उहाँले दलीय गठबन्धन मुलुकका लागि घातकहुने बताउनुभएकाे हाे । सभापति लामिछानेले विचार, सिद्धान्त र दर्शन नमिल्नेसँग गरिएको गठबन्धनले मुलुकलाई हित नगर्ने बताउनुभयो । यस्ता गठबन्धन मिलिजुली मुलुकलाई कंगाल बनाउनका लागि भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘विचार र सिद्धान्त नमिल्नेबीच गरिएको गठबन्धन केवल ‘ठगबन्धन’ मात्र हो ।’
उहाँले दलीय सिण्डिकेट तोड्नका लागि पनि गठबन्धनलाई परास्त गर्नुपर्ने बताउँदै मुलुकलाई भड्खालोमा हाल्ने दलहरुको विकल्पमा आफू राजनीतिमा कफन बाँधेरै निस्किएको बताउनुभयो । उहाँले पुराना दलहरु मिलिजुली खानेबाहेक मुलुकको हितको निम्ति केही गर्न नसकेको बताउँदै अहिले देशको स्वाभिमान समेत कमजोर हुँदै गएको बताउनुभयो ।
उहाँले ठूला भाषण गरेर मात्र नभई जनताका सानासाना काम गरेर देखाउने बताउँदै अन्य दलले जस्तो व्यवहार राष्ट्रिय स्वतन्त्र पार्टीबाट नहुने बताउनुभयो । उहाँले बच्चा जन्मिने बित्तिकै नेपाली कांग्रेस जन्मीयो की कम्युनिष्ट भनेर छाप लगाउने गरेको भन्दै यस्तो प्रवृत्तिले नागरिकको स्वन्तत्रता कुण्ठित भएको बताउनुभयो । उहाँले आफू मुलुक र जनताको हितका लागि स्पष्ट खाकासहित राजनीतिमा होमिएको बताउँदै मुलुकलाई हरिकंगाल हुनबाट जोगाउन आफ्नो दललाई संसदमा पुर्याउन अपिल समेत गर्नुभयो ।
आफू राजनीतिमा देखिएको फोहोरलाई सफा गर्न आएको बताउँदै उहाँले फोहोर गर्ने र सफा को हो भनेर छु्ट्टाउन आग्रह गर्नुभयो । उहाँले आगामी निर्वाचनमा आफ्नो दलबाट उठाउँने उम्मेदवार अन्य दलको भन्दा योग्य, र गर्व गर्न लायक हुने बताउँदै परिवर्तन चाहानेले मत दिएर विजयी गराउन आग्रह गर्नुभयो । उहाँले गलत काम गर्ने आफ्नो दलका उम्मेदवार तथा नेताविरुद्ध खबरदारी गर्न आग्रह गर्दै आफैं सम्बन्धित निकायमा कारबाही गर्न जाने ठोकुवा समेत गर्नुभयो ।
सबै क्षेत्रमा गुणस्तरीय र समान शिक्षा प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवा, भ्रष्टाचार शून्य मुलुक र विकास निर्माण मार्फत मुलुकलाई समृद्ध बनाउने आफ्नो दलको लक्ष्य रहेको उहाँले बताउनुभयाे । उहाँले कोठाकोठामा मन्त्रालय राखेर दलका कार्यकर्ता पोष्नेलाई भन्दा काम गर्ने दललाई जिताउन समेत उहाँले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्