१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना


15.808k
Shares

haribansha acharya corona positive

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारी साधन बाहेकका सवारी साधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्युतीय सवारीको कर बढाइरहेको बताउनुभयो ।

उहाँले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गर्नुभयो । उहाँले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गर्नुभयो ।

वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाई डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि बताउनुभयो । वरिष्ठ कलाकार आचार्यले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दावी गर्नुभयो ।

वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको उर्जा बेचेर नभई विद्युतीय उर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यंग्य गर्दै देब्रे तिरको बाटो भन्दा दायाँ तिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि सुरु हुने विश्वास पलाएको बताउनुभयो ।

वरिष्ठ कलाकार आचार्यले देशको विकासका लागि विद्युतको व्यपार बाहेकको विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले आफ्नै देशमा भएको विद्युत खपत बढाएर देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा उभ्याउन सक्नुपर्ने बताउनुभयो ।

फरक प्रशंगमा उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उहाँको काम प्रशंसा योग्य रहेको बताउनुभयो । उहाँले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताउनुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

वरिष्ठ कलाकार आचार्यले दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।