४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


भृकुटीमण्डपको खुल्ला बजारमा डेंगुको जोखिम

कहिले हुन्छ व्यवस्थित ?

273
Shares

काठमाडौं । एउटै छानामुनी न झ्याल, न ढोका त्यसमाथि प्लास्टिकको छानामुनी १३ सय बढी पसल रहेको काठमाडौंको भृकुटीमण्डप व्यापारीले अमानवीय सास्ती बेहोर्दै आएका छन् ।

एकछिन किनमेल गर्न जानेका लागि त याे ठाउँ उकुसमुकुसपूर्ण रहँदै आएको छ । दिनरात यहि ठाउँमा बसेर समय बिताउने व्यापारीहरुको स्वास्थ्य अवस्था झनै के होला ?

४२ रोपनी बढी जग्गामा सञ्चालन हुँदै आएको भृकुटीमण्डपको खुल्ला बजारमा व्यापारीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । तीन पुस्ता भइसक्यो, उनीहरुले परिवर्तनको छनक पाउन सकेका छैनन् । प्लास्टिकको छानो निकालेर हावापानी छिर्ने सुन्दर व्यापारिक भवन बनाउने योजना एकादेशको कथा बनेको छ ।

समाज कल्याण परिषदकाे स्वामित्वमा रहेको खुल्ला बजारमा छिर्नासाथ उकुसमुकुस हुने गर्दछ । वर्षा हुँदा हिल्लाम्मे हुने र अन्य दिनमा हावा नछिर्दा उनीहरु मानवोचित व्यवहारबाट समेत बन्चित छन् । निलो प्लास्टिक र बाँसको भरमा सञ्चालन हुँदै आइरहेको पसलममा न शौचालयको राम्रो व्यवस्था छ, न त खानेपानीको नै । आफूहरुले राजश्वमा उल्लेख्य योगदान दिँदै आएपनि समाज कल्याण परिषदले सुविधा दिन कन्जुसाई गरेको व्यापारीहरुको गुनासो छ ।

पछिल्लो समय भाईरल भएको डेंगु संक्रमणको जोखिम यहाँ देखिएको छ । डेंगु संक्रमणका कारण कतिपय पसल बन्द भएका छन् । लाम्खुट्टेको प्रकोप बढी हुनाले डेंगुको जोखिम उत्तिकै रहेको छ ।

कपडादेखि विद्युतीय, श्रृंगारदेखि झोला र जुत्तासम्म प्राय सबै सामान पाउने एकै छानामुनी रहेका पसलमा शनिबार बाहेक खासै व्यापार छैन् । वर्षौदेखि पलास्टिकको एउटै छानामुनी मध्यमवर्गीय परिवारलाई लक्षित गरी खोलिएको यो बजार चाडपर्वको मुखमा अझ असुरक्षित बन्ने खतरा छ ।

सरकारी स्वामित्वमा रहेको ठाउँमा हावापानी र शौचालय जस्ता न्यूनतम अधिकारबाट बञ्चित बनाइनु नाजायज मात्र होइन, मानव सभ्यता विरुद्ध छ ।