
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनबीच चुनावी तालमेलमा असहमति भए केन्द्रीय समितिको बैठकमा कुरा राख्न निर्देशन दिनुभएको छ ।
आइतबार काठमाडौमा पत्रकारसँगको भेटघाटमा प्रवक्ता महतले गठबन्धनबारे बाहिर फरक मत राख्दा मतदाता द्विविधामा पर्ने बताउनुभयो ।
गठबन्धन पार्टीकै सहमति र निर्णयबाट भएको भन्दै उहाँले आफ्ना असहमती पार्टीका बैठकमा राख्न आग्रह गर्नुभयो । सत्ता गठबन्धनमा रहेका दलले व्यवहारिक ढंगले सिट दाबी गर्नुपर्ने धारणा राख्दै प्रवक्ता महतले धेरै सिट लिने मात्र नभई लिएका सबै जित्ने गरी तयारी गर्नुपर्ने बताउनुभयो ।
बाबुराम भट्टराई र वामदेव गौतम तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतालाई सिट छाड्नेबारे आवश्यकताका आधारमा निर्णय हुने उहाँले बताउनुभयो । फरक प्रसंगमा प्रवक्ता महतले बालुवाटारको जग्गा प्रकरणमा कांग्रेस नेता समेत रहनुभएका पूर्वमन्त्री विजयकुमार गच्छदार निर्दोष भएको दाबी गर्नुभयो ।
तत्कालिन मन्त्रीपरिषद्ले गरेको निर्णयमा विभागीय मन्त्री भन्दा पनि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल जिम्मेवार हुने उहाँको जिकिर छ । गच्छदारलाई आरोप लगाइए पनि प्रमाणित नभएकाले भ्रष्ट्राचार गरेको भनेर भन्न नमिल्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्