२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मन्त्रालय सशक्तिकरण गर्न अति आवश्यक छ : मन्त्री रेग्मी


52
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयको सशक्तिकरण गर्न अति जरुरी रहेको बताउनुभएको छ ।

मन्त्री रेग्मीले सबैभन्दा बढि जनसरोकारको मन्त्रालय भएर पनि स्रोत, साधनमा अतिकमी भएको उल्लेख गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सशक्तिकरण गर्न अति आवश्यक रहेको बताउनुभएको हो ।

सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखनविरुद्धको १६ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उहाँले बजेटको कमी भएकै कारण महिलाहरुको सशक्तिकरण गर्ने कार्यक्रमलाई समेत आफ्नो मन्त्रालयले अघि बढाउन नसकेको स्पष्टिकरण दिनुभयो ।

दूरदराजमा रहेका महिलाहरुको जीविकोपार्जन राम्रोसँग हुने अवस्थाको सृजना गर्न मन्त्रालय चिन्तित भएपनि त्यसका लागि बजेटकै अभाव रहेको मन्त्री रेग्मीको भनाई थियो । उहाँले सबैभन्दा धेरै जनसंख्या आवद्ध रहेको महिला मन्त्रालयलाई ओझेलमा पर्न दिन नहुने पनि बताउनुभयो ।

मन्त्री रेग्मीले महिलाहरुले संचालनमा ल्याएका उद्योगहरुका लागि ५० प्रतिशत कर छुट गर्न आफू प्रयन्नशील रहेको पनि बताउनुभयो । त्यस अवसरमा उहाँले गरिवीका कारण महिला तथा बालबालिकाहरुको बेचबिखन चुनौतिको रुपमा रहेको स्पष्ट पार्दै त्यसको न्यूनिकरणका लागि जनचेतनाको अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताउनुभयो ।