
सोलुखुम्बु । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश राजनीतिक दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार नाम सिफारिस गरेका छन् ।
नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको हाे । समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित ८ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ पूर्वपार्टी सभापति बिनोदकुमार बस्नेतसहित ७ जना र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ प्रदेश सभापति कर्मा शेर्पासहित ३ जना र समानुपातिकतर्फ ९ जनाको नाम पठाइएको छ ।
त्यस्तै, नेकपा एमाले सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । प्रदेश सभा ‘क’ को प्रत्यक्षमा २ जना र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा ४ जना र समानुपातिकमा ५ जनाको नाम सिफारिस भएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आङङिमा लामालाई एकल सिफारिस गरेको छ । समानुपातिकमा २ जना सिफारिस गरेको छ । प्रदेश सभा ‘क’ बाट प्रत्यक्षमा २ जना र समानुपातिकमा २ जना सिफारिस गरिएको छ । प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षतर्फ दोर्जी सुशिल शेर्पा र समानुपातिकतर्फ २ जनाको नाम सिफारिस गरिएको जिल्ला सचिव डिल्ली राईले जानकारी दिनुभयो ।
त्यस्तै, जनता समाजवादी पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षमा केन्द्रीय राजनीतिक समिति सदस्य ल्हाक्पा शेर्पा र समानुपातिकतर्फ २ जना सिफारिस गरेको छ । प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ३ जनाकोे नाम पठाइएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष नरेन्द्र मगरले बताउनुभयो ।
साथै नेकपा माओवादी केन्द्रले भने केही दिनभित्र नाम सिफारिस गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्