१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उम्मेदवारको हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट


1.378k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आर्थिक, सामाजिक, कानूनी विगत र वर्तमान अवस्थाको विवरण पेश गरेरमात्रै उम्मेदवार बन्न पाउने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले उम्मेदवारको विगतको अवस्था, अपराधिक संलग्नता एवं शैक्षिक योग्यता र उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने रकमको हद निर्वाचन आयोगले आचार संहितामै उल्लेख गर्नुपर्ने माग राख्दै रिट दायर गर्नुभएको हो ।

आयोगलाई विपक्षी बनाई अधिवक्ता पौडेलले दायर गरेको रिटमा राजनीतिमा भएको अपराध र अपराधको राजनीतिकरणलाई रोक्न अध्ययन अनुसन्धान गरी कानूनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्न परमादेशको आदेश माग गरिएको छ ।

यस्तै, उम्मेदवारको आर्थिक, सामाजिक र राजनीतिक एवं कानूनी विगत र वर्तमान प्रष्ट हुने विवरण माग्ने र त्यस्तो विवरण गलत भएमा उम्मेदवारी एवं निर्वाचित भएमा पद समाप्त हुने गरि कानूनी संरचना तयार गर्न परमादेशको आदेश माग गरिएको छ । यस्तै, दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको सीमा निर्धारण गर्न पनि माग गरिएको छ । उक्त रिटको पेशी बुधबारको लागि पेशी तोकिएको छ ।