२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित गर्न आदिवासी जनजातिको माग


52
Shares

काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी छनोटलाई नै समानुपातिक समावेशी बनाउन माग गरेको हो ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक प्रतिनिधित्व होस् भन्ने राजनीतिक पार्टी, संविधान तथा कानून कार्यान्वयन गर्ने निकाय समक्ष आदिवासी जनजाति समुदायको माग रहेको बताउनुभयो ।

अध्यक्ष मगरले विगतका निर्वाचनमा आदिवासी जनजातिको जनसंख्या ३५.८१ प्रतिशतको समानुपातिक प्रतिनिधित्व सामान्यायिक नभएको उल्लेख गर्दै समानुपातिक समवेशिताको सिद्धान्तलाई अन्देखा गरी निर्वाचनको उम्मेदवारी चयनमा त्रुटी नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

आदिवासी जनजाति समुदाय भित्र पनि लोपोन्मुख र अति सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन नसकिरहेको भन्दै उहाँले त्यस्ता समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिन पनि आग्रह गर्नुभयो ।

अध्यक्ष मगरले आदिवासी जनजातिको सहभागितालाई संविधानमा नै सुनिश्चित गर्ने व्यवस्था राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।