
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो ।
उहाँले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताउनुभयो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल)क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।
प्रतिक्रिया दिनुहोस्