२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दिउँसै रकम लुट्ने पक्राउ


1.183k
Shares

काठमाडौं । धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास पक्राउ परेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो साढे २ बजे लक्ष्मीनियाँ गाउँपालिका ४, सपहीस्थित रहेको मेगा बैंकबाट १ लाख ८० हजार रुपैयाँ निकालेर स्थानीय ७५ वर्षीय रामदास घर फर्किंदै गर्दा दुबै जनाले लुटपाट गरेका थिए ।

धनुषाका एसपी बसन्त रजौरेका अनुसार लुटपाट गर्नुअघि सरोज र नरेश दुबैले बैंकबाट पैसा निकाल्ने व्यक्तिहरूको रेकी गरेका थिए । दासले पैसा निकालेर घर फर्किंदै गर्दा ज १२ प ८५९३ नम्बरको मोटरसाइकलमा सवार भई एकान्त देखेपछि दुबै जनाले लुटपाट गरेका थिए ।

वृद्ध दासलाई एक्लै पैदलै घरतर्फ जाँदै गरेको देखेर दुबै जनाले झोलाबाट पैसा लुटेर भागेका थिए । अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि धनुषाका एसपी रजौरे आफैं घटनास्थल पुगेर अनुसन्धान सुरू गर्नुभएको थियो ।

अनुसन्धान गर्दै जाँदा दुबै जनाले लुटपाट गरेको रकम र मोटरसाइकलसहित हिजै बेलुकी पक्राउ परेको एसपी रजौरेले बताउनुभयो । लुटिएको रकममध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले बरामद गरेको छ । त्यसैगरी सरोजबाट १ हजार ५ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।