१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा राजनीतिक दलहरु निर्वाचन केन्द्रित हुँदै


195
Shares

सिन्धुली । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा सिन्धुलीका राजनीतिक दलहरु उम्मेदवार सिफारिस गरी योग्य उम्मेदवार छान्नका लागि केन्द्रित हुन थालेका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा सत्ता गठबन्धनका दलहरु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाबाट सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको सिफारिस गरिसकेका छन् । सिन्धुलीमा क्रियाशिल ठूला राजनैतिक दलहरु मध्धे नेकपा एमालेले पार्टी तथा जनवर्गीय संगन लक्षित निर्वाचन कार्यक्रमहरुलाई तीब्रता दिएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि पार्टीका विभिन्न कमिटीहरुबाट उम्मेदवार चयनका लागि सिफारिस गर्ने कार्य सम्पन्न गरेको जनाएका छन् । सम्पन्न स्थानीय तहको निर्वाचनमा सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिकामा गठबन्धनले दुई नगरपालिका र पाँच गाउँपालिकामा विजयी हासिल गरेको थियाे । नेकपा एमालेले दुई गाउँपालिकामा विजय हासिल गरेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै गर्दा सर्वसाधणले भने नेपालको राजनीति व्यवसाय र पेशा जस्तो भइरहेका कारण आगामी निर्वाचनबाट जनताका पिर-मर्का समाधान गर्ने योग्य र सक्षम प्रतिनिधि चयन गर्न मतदान गर्ने कुरालाई जोड दिन थालेका छन् ।

साेही निर्वाचनका लागि स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयले राजनैतिक दलहरुको सहमतिमा केही मतदान केन्द्रको हेरफेर गरेकाे छ । साथै मतदान केन्द्रहरुको थप गरी शान्ति सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउने तयारी समेत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।