१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

आईतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिनुभयो । उहाँले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने बताउनु भयो । उहाँले सोमबार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उहाँसँगको भेटमा नाका सुसञ्चालनको बारेमा कुरा राख्ने बताउनु भयो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमबार ४ दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

ज्ञापन पत्र बुझाएपछि नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताउनु भयो । उहाँले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताउनु भयो । नेता बस्नेतले त्यहाँका स्थानीयहरुले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताउनु भयो ।

उहाँले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको वयापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताउनु भयो ।

ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताउनु भयो । उहाँले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले नाका राम्रोसँग कोभिड १९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गर्नुभयो । नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरु नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताउनु भयो । उहाँले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताउनु भयो ।

अध्यक्ष बस्नेतले व्यावसायीहरु आफ्नो लगानी डुब्ने अवस्थामा रहेको चिन्तित भएको भन्दै नाका सुसञ्चालनबारे पहल गरिदन आग्रह गर्नुभयो । पहिला दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटा सम्म सवारी मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो गर्नुभयो ।

आईतवार हिमालपारी व्यापार संघले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । आईतबार परराष्ट्र मन्त्रालयमा पुगेर नेता बस्नेतसहितका संघका पदाधिकारी र व्यापारीहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाएका थिए ।