
काठमाडौं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिन थालेको छ ।
चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको हो ।
शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभएको हो ।
यसमा लसुन, खुद्रा तथा स्याउ रहेको बताइएको छ । स्याउ विग्रिसकेको पनि बताइएको छ । कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले जानकारी दिनुभएको छ ।
गत साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए । तातोपानी हुँदै आउने डेढ सयभन्दा बढी दसैँ लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर उतै थन्किएको व्यवसायीहरुले बताएका छन् ।
हिमालपारि व्यापार सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन सरकारसंग बारम्बार हारगुहार गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्