१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुखुम्बुमा २२ जनाले नेपाली नागरिकता परित्याग गरे


14.43k
Shares

सोलुखुम्बु । करिब १२ वर्षभित्रमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी जम्मा २२ जनाले नागरिकता त्यागेका हुन् । २०६६ सालमा ४ जनाले, २०६८ मा २ जनाले, २०७१ मा १ जनाले, २०७२ मा ३ जनाले, २०७४ मा ३ जनाले, २०७५ मा २ जनाले, २०७६ मा ४ जनाले, २०७८ मा १ जनाले र २०७९ मा २ जनाले नेपाली नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा विदेश गएर त्यहीं देशको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । नागरिकता परित्याग गर्ने अधिकांश अमेरिका गएकाहरु रहेका छन् । केही अन्य युरोपियन मुलुकहरूमा समेत गएका हुन् ।

यसका लागि स्वयं नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावास मार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका हुन् । यसरी परित्याग गर्नेमा दूताबासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने क्रम बढी रहेको कार्यालयले जनाएको छ ।

साेही अवधिमा २ जना पुरुषको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता पनि दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने चलन रहेकाे छ ।