१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


चिनियाँ नाका तत्काल खोल्न अध्यक्ष दाहालको आग्रह


2.418k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँले नेपालमा दशैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह गर्नुभएको थियो । उहाँले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

दुई पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष ली ले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सधैँ सम्मान गर्ने बताउनुभएको जनाइएको छ । उहाँले नेपाल एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकामा धन्यवाद व्यक्त गर्नुभएको पनि बताइएको छ ।