
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुव्र्यवहारका घटना हुन सक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताउनुभएको छ ।
५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा बुधबार मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिनुभएको छ ।
भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
बिहान घरबाट निस्केका सन्तान बेलुका फर्कन्छन् कि फर्कंदैनन् भन्ने अभिभावकमा चिन्ता रहेको उहाँले बताउनुभयो । अहिले मोफसलमा कतिपय जिम्मेवार व्यक्तिले नै महिलाको विवाहको उमेर कम गर्ने विषयमा कुरा उठाए पनि आफू त्यसको विपक्षमा रहेको मन्त्री रेग्मीले स्पष्ट पार्नुभयो ।
मन्त्रालयका सचिव डिल्लीराम शर्माले बाल अधिकारको संरक्षण गर्दै उनीहरुको सर्वोत्तम हित गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । बालबालिकालाई सक्षम र योग्य नागरिकका रुपमा विकास गर्न सरकारसँग सबै पक्षले साथ, सहयोग र समन्वय गर्नुपर्नेमा उहाँको जोड छ ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले धेरै बालिका शिक्षकबाट नै हिंसामा परेका धेरै उजुरी आयोगमा आइरहेको उल्लेख गर्नुभयो । अहिले २० र २१ वर्षका धेरै युवा जानेर वा नजानेर साइबर अपराधमा संलग्न हुँदा त्यसप्रति सचेत हुन उहाँले बालबालिकालाई अनुरोध गर्नुभयो ।
राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहले मातृ मृत्युदर र पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाको मृत्युदर पहिलेभन्दा कम भए पनि अझै सुधारका लागि काम गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
राष्ट्रिय किशोरी सञ्जालकी संयोजक ललिता पाख्रिनले सरकारका कार्यक्रम सुगम ठाउँमा पुगेको भन्दै त्यसलाई ग्रामीण क्षेत्रका बालबालिकासम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्