१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै


325
Shares

अर्घाखाँची । प्युठानको सरुमारानी गाउँपालिकाले संचालन गरेको छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन शुरु गरिएको कार्यक्रममा हाल सम्म ४ सय ७७ जना छोरीहरुको खाता खोलि रकम पालिकाले जम्मा गरिसकेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र गाउँपालिकाले २१ लाख ५३ हजार ८ सय बचत गरिदिएको प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिनुभयो ।

मासिक १ सय बचतबाट सुरु गरिएको कार्यक्रममा प्रत्यक वर्ष एक सय रुपँया बढ्दै जान्छ । आर्थिक वर्ष २०७५/०७६ बाट यो अभियानमा सहभागी जनाएकाको अहिले आएर मासिक पाँच सय सम्म पुगेको छ । वार्षिक हिसाब गर्दा छ हजार जम्मा हुन्छ । मुख्य गरि बालबिवाह नियन्त्रण,माध्यमिक शिक्षासम्म शिक्षामा पहुँच पुराउने गाउँपालिकाको उदेश्य रहेको समेत जानकारी दिनुभयो ।

अभियानमा सहभागी भएका तर उमेर नपुगी बिवाह गरेका बालिकालाई रकम दिने छैन, तर पठनपाठनमा आर्थिक समस्या भएमा पालिका र अभिभावकको समन्वयमा बीचमा पैसा निकाल्न सकिने समेत बताएको छ । यस्तै अभियान सफल पार्नको लागि अभिभावकले पनि केहि रकम थप गरेर जम्मा गदै आएका छन । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी संस्था बांगेशालसँग सहकार्य गरि रकम जम्मा गरिदिने गरिएको छ ।

पालिकाले यो रकम १० वर्ष सम्म जम्मा गरिदिन्छ । त्यसपछि बाँकी रहेको ८ वर्ष आफ्नै अभिभाकले गर्नु पर्ने प्रमुख प्रशासकिय अधिकृत रेग्मीले बताउनुभयो । बचत अभियानमा २०७७/७८ सम्म आउँदा २ सय ९८ संख्या रहेकोमा २०७८/७९ पुग्दा ४ सय ७७ पुगेको हो । अभियान जनमुखी भएकाले स्थानीय पनि खुशी रहेका छन ।