
काठमाडौं । नेपालमा दलित समुदायमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागले समता फाउण्डेसनसँगको सहकार्यमा गरेको ‘दलित मानव अधिकार पुस्तक २०७८’ सार्वजनिक र मानव अधिकार सुनिश्चितताका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा सहभागीले दलित समुदायको मानव अधिकार जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
समता फाउण्डेसनद्धारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ मा सो वर्ष जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको र जातीय भेदभावकै आधारमा ५ जनाको हत्या र २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती करणी भएको उल्लेख गरेको छ ।
यस्तै, दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवेदनको निष्कर्ष छ ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य एवम प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायमाथि विभिन्न बाहानामा हिंसा भइरहेको भन्दै त्यसप्रति राज्यका निकाय संवेदनशील हुनुपर्ने बताउनुभयो । आयोगले विशेषगरी उजुरी परेका र सञ्चारमाध्यममा आएका समाचारलाई सत्यतथ्य छानविन गरी घटनाको अध्ययन गरी दोषीमाथि कारबाही गर्न सिफारिस गर्दै आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्