
काठमाडौं । मुलुकका अधिकांश जिल्लामा डेंगु संक्रमितको संख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएकोे जनाएको छ । गत साउनदेखि हालसम्म १२ हजार दुई सय १७ जनामा डेंगु पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । डेंगुका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा चार सय दुई, मधेसमा दुई सय २३, बागमतीमा नौ हजार तीन सय चार, गण्डकीमा दुई सय ४५, लुम्बिनीमा एक हजार चार सय ७९, कर्णालीमा एक सय ८४ र सुदूरपश्चिम प्रदेशमा तीन सय ८० जनामा डेंगु देखिएको छ ।
सांसद शर्माले देशका धेरै स्थानमा बाढीपहिरो गएको जनाउँदै बाढीपहिरो प्रभावितको उद्धार र राहत वितरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । दार्चुला, काभ्रेपलाञ्चोकलगायत जिल्लामा बाढी, पहिरोले मानवीय र भौतिक क्षति पु¥याएको छ । उहाँले बाढी, पहिरो प्रभावितलाई राहत र प्रभावित क्षेत्रमा तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा. विमला राई पौडेलले डेंगुले तहल्का मच्चाइरहेकाले यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले डेंगु प्रतिकारात्मक काम कहाँ पुग्यो भनी स्वास्थ्य मन्त्रालयसँग प्रश्न गर्नुभयो ।
सांसद जयन्तीदेवी राईले महँगीको चपेटामा जनता परिरहेको र महँगी नियन्त्रणमा सरकारको ध्यान दिन नसकेको बताउनुभयो । किसानका उत्पादनले उचित मूल्य पाउन नसकेको तथा उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी खानुपरेको जनाउँदै उहाँले कृषिजन्य उत्पादनको बिक्री वितरणमा संलग्न विचौलियाको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद खिमलाल देवकोटाले प्रदेशलाई अधिकार दिन कुनै कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । पाँच वर्षसम्म प्रदेशले सरकारको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उहाँले संविधानको अनुसूचीमा रहेको एकल अधिकार सूचीका अधिकार पनि प्रदेशले प्रयोग गर्न नसकेको बताउनुभयो ।
प्रदेशका अधिकारलाई सङ्कुचन हुनेगरी विभिन्न सङ्घीय कानुन बनेको जनाउँदै उहाँले कर्मचारी, कानून, वित्तीय साधन स्रोतलगायत आधारभूत संरचना सुनिश्चिता नगरिए प्रदेश सरकारले आफ्नो औँचित्य पुष्टि गर्न नसक्ने बताउनुभयो ।
सांसद कमला पन्तले आगामी निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद देवेन्द्र दाहालले मुलुकको समृद्धि, सुशासनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद गोमादेवी तिमिल्सना जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको जनाउँदै जनजीविकाका सवाल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्