१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धुलिखेलमा ७ किलोको बच्चा जन्मने क्रममा काँध अड्किएर मृत्यु


749.515k
Shares

काभ्रे । सामान्यतया एउटा नवजात शिशुको तौल ४-५ किलो हुने गर्दछ ।

तर धुलिखेल अस्पतालमा ६ हजार ६ सय ६० ग्राम अर्थात करिब ७ किलोको शिशुको जन्म भएको हाे । सिन्धुपाल्चोकबाट निकै ढिलो अस्पताल ल्याईपुर्याएका कारण शिशुलाई बचाउन भने नसकिएको अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारका अनुसार बिहिबार साँझ ६ः५० बजे सिन्धुपाल्चोक तातोपानीकी ३५ वर्षीया गर्भवती महिला सुत्केरी हुन नसकेपछि अस्पताल ल्याइएको थियो । सामान्य रूपमा बच्चा जन्मने संकेत नदेखिएपछि डाक्टरहरूले शल्यक्रिया (सिजेरियन) मार्फत बच्चा निकाल्ने तयारी गर्दा गर्दै बच्चाको टाउकोबाहिर निस्किएपछि शल्यक्रिया गर्न नसकिएकाे बताएका छन् ।

जन्मने क्रममा काँध अड्किएका कारण बच्चाको निधन भएकाे डा. ताम्राकारकाे भनाइ छ । बच्चाको अस्वाभाविक तौलकाे विषयमा पहिले नै जानकारी दिइएको भएपनि शल्यक्रिया गर्न सम्भव हुने उहाँले बताउनुभयो । उताबाट रेफर गर्दा सबै कुरा नबुझाई पठाइएकाले पनि समस्या भएको समेत उहाँले बताउनुभयाे ।

योनीद्वारबाट ७ किलो तौलको शिशु जन्मिनु भनेकाे नेपालको लागि मात्रै नभई विश्वकै निकै बिरलै घटना भएको चिकित्सकहरूले बताएका छन् । ती महिलाको यो चौथो पटकको गर्भाधारण हो । यस अगाडि उहाँले सामान्य रूपमै ३ वटा बच्चालाई जन्माउनु भएको थियो ।

शेर्पा थरकी ती महिलाका पहिला नै ३ जना छोरी जन्मिएका भए पनि अहिले जन्मेको बच्चा भने छोरा रहेकाे थियो । उनका १०, ९ र ३ वर्षका छोरी रहेका छन ।