
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा साेमबार सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएकाे छ ।
उहाँले संविधानले नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको समेत बताउनुभएकाे हाे । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गर्नुभएकाे छ । उहाँले मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट समेत गर्नुभयाे ।
नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहे सन्देशमा भनिएको छ ।
वर्तमान संविधानले केन्द्रीकृत, एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद, उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको उहाँकाे तर्क छ ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि संविधान पालनामा केही चुनौती देखिएको बताउनुभएकाे छ । तर पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उहाँको तर्क छ ।
संविधान दिवसको अवसरमा शुभकामना दिंदै उहाँले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य शर्त भएको समेत उल्लेख गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्