
सिन्धुली । सिन्धुलीमा सिंचाई सुविधाका कारण कृषि उत्पादनमा वृद्धि भएकाे छ ।
सिंचाई सुविधाका कारण सिन्धुलीका ग्रामीण क्षेत्रका बाँझो र सुख्खा जमिनहरुमा पर्याप्त रुपमा अन्नबाली र तरकारी उत्पादनमा वृद्धि हुन थालेकाे हाे । सिन्धुलीमा जलश्रोत तथा सिंचाई विकास डिभिजनबाट सिंचाईका कार्यक्रमहरु संचालन भएका छन् । जसले गर्दा नदी कटानले बगर बनेका ग्रामीण क्षेत्र तथा सिंचाई सुविधाको अभावमा घाँसे चौरी बनेका जमिनहरुमा समेत बाह्रै महिना सिंचाई सुविधा पुगेकाे हाे ।
जसका कारण किसानहरुको जीवनमा विस्तारै आमूल रुपमा परिवर्तन हुँदै आएको छ । परम्परागत रुपमा संचालन हुँदै आएको सिंचाई कुलाे पैनीहरुलाई पुनः निर्माण गरी नहरमा पानी संचालन हुन थालेपछि स्थानीय किसानहरुले बाँझो रहेका र सिंचाई सुविधा नभएका जमिनहरुमा समेत खनजोत गरी खेतीपाती लगाउन थालेका हुन् ।
सिन्धुली जिल्लाको कमलाखोच क्षेत्रको कमलानदीबाट व्यवस्थित रुपमा बाँध निर्माण गरेर नहरमा हिउँद र वर्षामा सिंचाईका लागि पानी संचालन हुन थालेकाे छ । जसले गर्दा कमलाखोच क्षेत्रका जमिनहरुमा सिंचाई सुविधा पुगेर विगतको तुलनामा अन्नबालीको उत्पादनमा वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्