
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाकाे डाँडाे आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेकाे छ ।
वीपी राजमार्गको आसपासमा रहेको गोलन्जोरको खनियाखर्क, सोलाभन्ज्याङग र ल्यान्द्रयाङ क्षेत्रमा आदिवासी जातिको बस्तीलाई होमस्टेको रुपमा विकास गरी पर्यटकीय गन्तव्य बन्ने देखिएकाे छ । ऐतिहासिक सिन्धुलीगढी र पौवागढी आसपासमा रहेका गोलन्जोर क्षेत्रमा पर्यटकीय गन्तव्यको रुपमा विकास तथा विस्तार गर्न स्थानीय कृषि उत्पादनको बजारिकरण, होमस्टेको निर्माण र विकासका कार्यक्रमहरु संचालन भइरहेका छन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट ३९ किलो मिटर उत्तर पूर्वको महाभारत पहाड श्रृखलाबाट अवलोकन गर्दा मध्य क्षेत्रका तराई र पहाडका सबै भू-भागहरु छर्लङग रुपमा देख्न सकिने छ । हावा पानीको स्वच्छताले समेत गोलन्जोर डाँडाे मनोरमयुक्त भएकाले आकर्षक पर्यटकीय गन्तव्य स्थल बनेको छ ।
गोलान्जोर आसपासमा रहेका रत्नचुराको नयाँखर्क, हिर्दिङग, नाकाजोली र तीनकन्याको रानीखाेला लगायतका आदीवासीहरुको बसोबास स्थलमा ग्रामीण संस्कार, नेपाली लोक कला संस्कृति समेत प्रशस्त रहेकाले होमस्टेको रुपमा विकास गर्न आवश्यक ठानिएको छ ।
विभिन्न सम्पदायुक्त वन, वनस्पति, जडीबुटी, जंगली जनावर र चराचुरुङगी रहेको गोलान्जोर डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सके सिन्धुलीको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्