
सिन्धुली । सिन्धुलीमा कुरिलो खाँदा मानव स्वास्थ्य राम्रो हुने भएकाले कृषकहरुले कुरिलोको व्यवसायिक खेती सुरु गर्न थालेका छन् ।
परम्परागत रुपमा लगाईने विभिन्न खालका खाद्यन्न बाली भन्दा धेरै आम्दानी हुने देखिएपछि कृषक कुरिलो खेतीतर्फ आकर्षित हुन थालेका हुन् । सिन्धुलीमा विगत केही वर्षदेखि कुरिलोको व्यावसायिक खेती हुँदै आएको भएपनि पछिल्लो समयमा कृषकहरुको आकर्षण अत्याधिक बढेको छ । सिन्धुलीकाे महाभारत खोंच क्षेत्रमा विभिन्न संघ, संस्था, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति र कृषि ज्ञान केन्द्र तथा निजी संघ सस्थाहरुको सहयोगमा करिब १ सय ७० रोपनी क्षेत्रफलमा कुरिलो खेती गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, लाम्पानटार, भद्रकाली र रत्नचुरा लगायतका विभिन्न स्थानहरुमा कुरिलोको खेती गरिएको छ । सिन्धुलीमा २ लाख ८० हजारको संख्यामा कुरिलाकाे विरुवाहरु लगाईएको जनायएकाे छ । व्यवसायिक रुपमा कुरिलो खेती गर्दै आएका रामबाबुले वार्षिक १ लाख ८० हजारको संख्यामा विरुवा उत्पादन गर्ने गर्नुभएकाे छ ।
सिन्धुलीका कृषकहरुलाई पहिलो चरणमा बीउ उत्पादन गर्ने उद्देश्यले कुरिलो खेती गर्न प्रोत्साहित गरिएको छ । हाल जिल्लामा कुरिलोको अर्धप्रशोधित बीउ प्रतिकेजी ९ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । न्यून लागानीमा धेरै आम्दानी गर्न सकिने भएकाले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषकहरुले बताएका छन् ।
विपन्न वर्गका कृषकहरुका लागि पनि आम्दानीको राम्रो स्रोत बन्ने भएकाले यसको व्यवसायिक खेती र विस्तार गर्न सके कुरिलो खेतीको माध्यमबाट गरीबी न्यूनिकरणमा सहयोग पुग्ने छ । कुरिलो जमिनमा एक पटक लगाएपछि वषौंसम्म उत्पादन लिन सकिने भएकाले कृषकहरु व्यावसायिक कुरिलो खेतीतर्फ आकर्षित हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्