
काभ्रे । गृहमन्त्री बालकृष्ण खाँणले देशमा शान्ति सुरक्षा कायम गर्न तथा आपराधिक कार्यहरुलाई नियन्त्रण गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
काभ्रेको पनौतीमा प्रतिष्ठानको भवन निर्माण अन्तर्गत भूमि पुजन कार्यक्रममा सहभागी हँुदै मन्त्री खाँणले उक्त कुरा बताउनुभएको हो ।
नेपाल प्रहरीको वृद्धि विकासका लागि आवश्यक तालिम प्रदान गर्न परियोजनाले विशेष भूमिका खेल्ने उहाँको विश्वास छ ।
समाजमा हुने विभिन्न प्रकारका अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न र कर्मचारीको क्षमता अभिवृद्धि गर्न गुणस्तरीय प्रशिक्षण महत्वपूर्ण हुने गृहमन्त्री खाणले बताउनुभयो ।
उहाँले नेपाल र भारतबीचको सम्बन्ध सदिऔँदेखि निरन्तर सौहार्द, सुमधुर र मैत्रीपूर्ण रहेको बताउनुभयो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीच वषौंदेखि मित्रवत सम्बन्ध रहेको भन्दै प्रतिष्ठानको पूर्वाधार निर्माणका साथै आगामी दिनमा तालिमका लागि भारतीय प्रहरी एकेडेमी र नेपाल प्रहरी एकेडेमीबीच थप सम्झौता हुनेमा आफू आशावादी रहेको बताउनुभएको थियो ।
सन् २०१४ नोभेम्बर २५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणको क्रममा काभ्रेको पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्