
काठमाडौं । पछिल्लो तथ्यांकले देशभर अपराधका घटना बढेको देखाएको छ ।
जबरजस्तीकरणी र बैकिङ्ग कसुर, भवितव्य ज्यान, चोरी र सवारी दुर्घटना बढेको देखिन्छ । यसैगरी वित्तीय अपराधका घटना त कहालीलाग्दो हिसाबमा उँभो लागेको छ । यद्यपि ठूला आपराधिक घटनामा भने कमी आएको प्रहरीको दावी छ ।
एकातिर सरकारले अपराध न्यूनिकरण गर्ने भन्दै विभिन्न प्रभावकारी कार्यक्रम ल्याएको दावी गरिरहँदा प्रहरीकै तथ्यांकले अपराधका गतिविधि उकालो लागेको देखिन्छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकलाई हेर्दा चालू आर्थिक २०७९/०८० को २ महिनामा आपराधिक घटना बढेको पुष्टि हुन्छ । तर, ठूला घटना नभएको भन्दै प्रहरी प्रतिरक्षा गर्छ ।
विगतको तुलनामा यो वर्ष बैकिङ्ग कसुरको मुद्दा दोब्बर बढेको छ । लागूऔषधको मुद्दा झण्डै ५० प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । त्यस्तै, अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर गत आर्थिक वर्षमा भन्दा ४२ प्रतिशतले बढेको र चोरी अपराध पनि पहिलाको दाँजोमा ४१ प्रतिशतले बढेको छ । आत्महत्या गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।
मानव बेचबिखन तथा ओसारपसार, हत्या, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, जबरजस्तीकरणी जस्ता जघन्य अपराधमा पहिलाको आर्थिक वर्षको तुलनामा कमी आएपनि जबर्जस्तीकरणी उद्योग ७ दशमलब ५८ प्रतिशले बढेको छ ।
गत वर्षको तथ्यांक हेर्दा यो चालू आर्थिक वर्षको २ महिना तथ्यांकले आपराधिक गतिविधि कम देखिएको छ । बिगो जरिवानामा वृद्धि भई राजस्व संकलन बढेको प्रहरी बताउँछ । बढ्दो आपराधिक घटना कम गराउन प्रहरीको योजना के त ?
सूचना प्रविधिको विकासँंगै अपराधका शैली पनि फेरिएका छन् । अपराधमा संलग्न उमेर समूहले झन् भावी दिन संकटपूर्ण रहेको संकेत गर्छ । त्यसैले प्रहरीलाई समय सापेक्ष स्रोत, साधन सम्पन्न बनाउन अपरिहार्य छ ।
प्रतिक्रिया दिनुहोस्