२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दशैँमा चल्ने सवारीको भएन यान्त्रिक परीक्षण


143
Shares

काठमाडौं । दशैँ मनाउन घर जानेहरुको सजिलोका लागि यातायात व्यवसायी, सरकार र प्रहरीले विभिन्न सुविधा दिएको बताएपनि वास्तविकता त्यस्तो छैन । अनलाइन टिकट त परै जाओस् , बसपार्क पुगेर पनि यात्रु टिकट पाउन सकिरहेका छैनन् । भीडभाड, तानातान, सीट विवाद उस्तै छ । दशैँमा चल्ने भाडाका सवारी साधनको अनिवार्य यान्त्रिक परीक्षण गर्ने भनिएपनि स्वयं चालक यसबारे बेखबर छन् ।

कोरोनाका कारण अघिल्ला दशैँमा घर जान नपाएपनि यसपटक भने उपत्यका छोड्नेको संख्या बाक्लिने छ । बसपार्कमा देखिएको भीडभाडले त्यही संकेत गर्छ । यातायात व्यवसायीहरुले अनलाइनमार्फत टिकट जारी गरेर यात्रुलाई सजिलो बनाएको भनेपनि त्यो सुविधा सवैका लागि प्रभावकारी देखिएन । टिकटका लागि भौतारिएका यात्रुको देख्दा सुविधाका प्याकेज आश्वासनमा सीमित रहेको प्रष्ट हुन्छ । एकातिर घर पुग्ने रहर अर्कातिर टिकट नपाउँदाको स्थितिले यात्रुलाई भने हुनसम्मको सास्ती भएको छ ।

बसपार्कमा टिकटका लागि अल्मलिएकाहरुबीच अनलाइन टिकट काटेका केही युवा भेटिए । यस्तो सुविधा यात्रुका लागि सहजपूर्ण भएपनि सबैका लागि पर्याप्त र अझै विश्वसनीय नभएको यात्रुहरु बताउँछन् ।

प्रहरीले सहायता कक्ष स्थापना गरेर यात्रुलाई सघाउने गरेको बताएको छ । तर त्यसको प्रभावकारिता कसैले अनुभव गर्न सकेका छैनन् । पर्याप्त गाडी उपलब्ध गराउने यातायात व्यवसायीको प्रतिवद्धता, यात्रा सुरक्षित गर्ने प्रहरी दायित्वको तालमेल कतै देखिदैन । यसको सास्ती अन्तिममा यात्रुले व्यहोर्नुपरेको छ ।

सवारीको संख्या कम, बाटो बिग्रेको र तेलको मूल्य वृद्धि, दशैँमा काठमाडौंबाट मात्र यात्रुहरु जाने भएका कारण समस्या हुने गरेको यातायात चालक गोकर्ण लामिछाने बताउनुहुन्छ । उहाँले अहिले लामोदुरीको यातायातका साधनहरुका लागि स्कुल बस पनि प्रयोग गर्दा सजिलो हुने बताउनुहुन्छ ।

चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न सरकारले भाडाका गाडीको अनिवार्य यान्त्रिक परीक्षण गर्ने केही दिनअघि मन्त्रिपरिषद्बाटै निर्णय गरेपनि यसबारे स्वयं चालक अनभिज्ञ छन् ।

त्यसमाथि निमुखा यात्रु टिकटका दलाली गर्नेबाट जोगिन उत्तिक्कै हम्मे हम्मे छ ।