
सिन्धुली । सिन्धुलीका राजमार्ग आसपासका होटल र रेष्टुराहरुमा मूलाको माग अत्याधिक रुपमा बढेपछि स्थानीय कृषकहरुले मुलाको व्यवसायिक खेती सुरु गरेका छन् ।
सिन्धुलीका विभिन्न स्थानमा गरी यस वर्ष कुल ३५ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रुपमा मूला खेती लगाइएकाे हाे । अन्य कृषि उत्पादनकोे तुलनामा तरकारी र अचारमा अधिकतम रुपमा मूलाकाे प्रयोग हुने गर्छ । आईरन र कार्बाेहाईड्रेड अधिकतम रुपमा पाईने भएकाले मूला मानव शरीरलाई फाईदा हुने तरकारीको रुपमा मानिएको छ । सिन्धुलीको अधिकांश भू–भागहरुमा मूला खेती हुने गर्दछ ।
विगतका वर्षहरुको तुलनामा यस वर्ष अनुकूल मौसम भएका कारण मूला खेती सप्रिएको सुनकोशी–७ मझुवाका किसान अर्जुन कार्कीले बताउनुभयाे । कृषि ज्ञानकेन्द्रको एक तथ्यांकका अनुसार सिन्धुलीमा मिनअर्ली, ह्वाईटनेक, चालिसे, चेतकी र तोकीनासी जातका मूलाहरु उत्पादन हुने गरेका छन् । व्यवसायिक रुपमा गरिएको मूलाको खेतीले सिन्धुलीका कृषकहरुको जीवनस्तर उकास्न समेत सहयोग गरेकोे छ ।
सिन्धुलीमा उत्पादन भएका मूलाहरु सदरमुकाम सिन्धलीमाडी, भिमान महोतरीको बर्दिबास र मन्थली जस्ता शहर–बजारहरुमा बिक्री वितरणका लागि किसानले लैजाने गरेका छन् । विगत परम्परागत रुपमा गरिने अन्नबालीको तुलनामा व्यवस्थित रुपमा गरिने मूला तरकारीको खेतीले कृषकहरुलाई बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज भएको छ।
हिउँदे तरकारी मूलाकोे खेतीले सिन्धुलीका उपभोक्ताहरुलाई सुविधा समेत पुगेको छ । सिन्धुलीका विभिन्न स्थानहरुमा यस वर्ष गरिएकोे तरकारी खेतीबाट करिब २ करोड आम्दानी हुने अनुमान गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्