७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुलीको भीमान शहरीकरणतर्फ उन्मुख हुँदै


884
Shares

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित बर्दिबास–सिन्धुलीकोबीचमा रहेको भीमान पछिल्लाे समय शहरीकरणतर्फ उन्मुख हुँदै गएकाे छ।

जसका कारण मानव बस्तीको समेत विकास भएर गएको हाे । सुविधा सम्पन्न शहर बजारको तुलनामा मानवीय आधारभूत सुविधाहरु ग्रामीण क्षेत्रमा पनि प्राप्त हुन थालेपछि भीमान बजारमा केही समय यता मानव बस्तीको चाप बढन थालेको छ ।सिन्धुलीको दक्षिण पूर्व १७ किलो मिटरको दूरीमाअवस्थित भीमान बजार पुरानो बजारकाे रुपमा मानिन्छ ।

कमला नदी किनार र चुरे पहाडको काखमा रहेकाे भीमान बजार प्राकृतिक रुपमा समेत मनमोहक र सुन्दर भएका कारणले मानवीय जीवन यापनका लागि उपयुक्त स्थल मानिदै आएको छ । भीमान बजारमा मावन बसाईलाई आकर्षण गर्ने बजार सुविधा, खानेपानी, संचार, यातायात, विद्युत र स्वास्थ्य शिक्षा लगायतका सुविधाहरु उपलब्ध भएकाले विभिन्न स्थानहरुबाट समेत बसाई सरेर भीमानमा बसोबासका लागि आउने मानिसहरुको संख्यामा समेत वृद्धि हुुँदै आएको छ ।

नेपालका ठूला शहर बजारमा हुने वातावरणीय प्रदुषण, दुर्गन्ध र खानेपानीको अभावको समस्याबाट टाढै रहनका लागि पछिल्लो समयमा मानिसहरुले विकसित हुँदै गएका साना शहरहरुमा बसोबास गर्न रुचान थालेका छन् । जसका कारण सिन्धुलीको भीमान बजार मानव बस्तीको उपयुक्त स्थल मानिएको हो । केही समय अगाडि कुल २ सय घरधुरी रहेको भीमान बजारका खालीरहेका बाँझा जमिनहरु र खेती योग्य जमिनहरु समेत मानिसहरुको बस्ती विकास भएसँगै घर र घडेरीको रुपमा परिणत हुन थालेपछि यतिखेर करिब २ हजारको संख्यामा घर तयार भइसकेका छन् ।

भीमान बजारको शहरीकरणसँगै विगतका परम्परागत रुपमा रहेका काठबाट निर्मित घरहरु भत्काएर अहिले सिमेन्टका घरहरु निर्माण गर्ने क्रममा पनि तीव्रता आएको छ । भीमान बजारमा मावन बस्तीको विकासले बजार रुपान्तरण हुनुका साथै सुविधा पनि बढेको छ ।