
म्याग्दी । दशैंमा मुस्ताङका च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ ।
तर रहर भएर के गर्नु, यस वर्ष मुस्ताङी भेडा र च्याङ्ग्राको मूल्य अत्याधिक बढेपछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन् । मुस्ताङको कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङग्रा नआएकाले यस वर्ष पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा च्याङ्ग्रा बजारमा आएकाले मूल्य आकाशिएको व्यापारीहरुले बताएका छन् । तर उपभोक्ताहरुले भने व्यापारीहरुले मन लाग्दो गरी मूल्य निर्धारण गरेकाले उपभोक्ताहरुलाई खरिद गर्न महँगो भएको गुनासो गरेका छन् ।
भेडाको तुलनामा च्याङ्ग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले दशैंमा मुस्ताङका च्याङ्ग्राको माग बढी हुने गर्दछ ।उपल्लो मुस्ताङका व्यापारीले सानो–सानो संख्यामा खरिद गरी मुस्ताङ बाहिरबाट आउने व्यापारीलाई बिक्री गर्ने गरेकाले पनि उपभोक्तासम्म पुग्दा मूल्य बढ्ने गरेको पाइएको छ । मुस्ताङबाट म्याग्दी हुँदै बजारमा ल्याइएका भेडा र च्याङ्ग्राको मूल्य रोज्जाको ५० हजार रुपैयाँसम्म पुगेको छ ।
त्यसैगरी सबै भन्दा सानो र सबैले छोडेको च्याङ्ग्राको मूल्य पनि ३० हजारको हाराहारीमा पर्ने मुस्ताङबाट च्याङग्रा लिएर पोखरातिर लैजादै गर्नुभएका व्यापारी शशिधर थापाले बताउनुभयो । उहाँसँग ४ जनाको समूहले ४ सय ५० वटा च्याङ्ग्रा खरिद गरेर पोखरामा च्याङ्ग्रा लगेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार, गत वर्षको तुलनामा मुस्ताङमै च्याङ्ग्राको मूल्य प्रतिगोटा ४ देखि ५ हजारसम्म बढेको छ । मुस्ताङी खोरपाला (खोरमा पालिएको) च्याङ्ग्रा भएकाले पनि मूल्य बढेको हो । घरकै खोरमा पालेको च्याङ्ग्रा स्वस्थकर हुने भएका कारणले गर्दा माग पनि बढी हुने गर्छ ।
मुस्ताङमा व्यापारीहरुले च्याङ्ग्रालाई प्रतिगोटा ४२ हजारसम्म मूल्य परेको बताएका छन् । केहि वर्ष अघिसम्म २० देखि २२ हजारमा पाईने च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बरले बढेको व्यापारीहरुको गुनासो रहेको छ । कोभिड–१९ का कारण विगत ३ वर्षदेखि उत्तरी कोरला नाका बन्द रहेकाे छ । नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्याङग्रा खरिद गर्न नपाउँदा यस वर्ष पनि भेडा र च्याङग्राको संख्या न्यून भएको मुस्ताङका व्यापारीहरुको भनाइ छ । जोमसोम र लेते मा पशु चिकित्सकहरुले मुस्ताङबाट बाहिरिने भेडा र च्याङग्राको स्वास्थ्य परीक्षणगरि निरोगीताको प्रमाणपत्र दिएर निर्यात गर्ने गरिएको छ ।
गत वर्ष ३० देखि ३५ हजार रुपैयाँसम्ममा बिक्री भएको भेडा र च्याङग्रालाई व्यापारीले किसानबाट २० हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिद गरेका थिए । मुस्ताङका विभिन्न गाउँपालिका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चीनको तिब्बतस्थित झोङवासेन जिल्लाबाट समेत नेपाली बजारमा भेडा र च्याङ्ग्रा आउने गरेका छन् । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडा पालनको पकेट क्षेत्र मानिन्छ ।
तिब्बतका च्याङ्ग्राको तौल र मूल्य फरक हुने भएकाले पनि उपभोक्ताले व्यापारीसँग बुकिङ गर्ने गरेका छन् । प्रयाप्त चरण क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगसहित कृषकहरूको भेडा पालनप्रतिको आर्कषणले विगतका तुलनामा भेडा र च्याङ्ग्रा पालनमा आर्कषण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दी–मुस्ताङले जनाएको छ । स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिइएको छ । मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोलीले तथ्याङ्क संकलनसँगै स्वास्थ्य परीक्षणमा खटिएका छन् । हिलाम्मे सडकका कारण धेरै भेडा र च्याङ्गा घाइते समेत भएको अवस्थामा देखिएका छन् ।
बेनी-जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या हुने भएकाले यस वर्ष विगतमा भन्दा छिट्टै व्यापारी मुस्ताङमा पुगेपनि कृषकले व्यापारीबीच नै मूल्यमा प्रतिस्पर्धा गराएपछि ढिलो भएको व्यापारीको भनाइ छ । मुस्ताङदेखि गन्तब्यसम्म पुग्ने बेलामा पटक-पटक स्थानीय कर तिर्नुपर्ने अवस्थाको अन्त्य भएमा उपभोक्तालाई केही सस्तोमा बिक्री गर्न पाईन्छ । यसैबीच दशैं र तिहारलाई लक्षित गरी म्याग्दीका हिमाली क्षेत्रमा समेत ठूलो संख्यामा भेडा पालन गरिएको छ ।
दशैंमा मात्रै म्याग्दीबाट समेत १ करोडको बिक्री हुने गरेको छ । मुस्ताङबाट ३५ करोडको हाराहारीमा कारोबार हुन्छ ।
प्रतिक्रिया दिनुहोस्