
काठमाडौं । बडा दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरु भएको छ ।
खाद्यको काठमाडौं थापाथलीस्थित वागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण भैरहेको हो । कम्पनीसँग एक हजार खसीबोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीबार दिउँसो सम्ममा तीन सय वटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको कम्पनीको वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिनुभयो ।
प्रमुख थापाले पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको दाबी गर्नुभयो । उहाँले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्य भन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गर्नुभयो । थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको छ ।
उहाँले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताउनुभयो । बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पुर्याएको उहाँले बताउनुभयो । प्रमुख थापाले थापाथली विक्रि कक्षमा दैनिक ४ सय देखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताउनुभयो । ललितपुर सातदोबाटोबाट यहाँ खसी किन्न पुग्नुभएका प्रदीपजंग कार्कीले खसी, बोकाको भाउ चित्तबुझ्दो भएपनि च्याङ्ग्राको भाउ धेरै महंगो भएको प्रतिक्रिया दिनुभयो ।
विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी र बोका प्रतिकेजी ६ सय ७० रुपैयाँ, र जिउँदो च्याङ्ग्रा किलोको १२ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्