१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू


26
Shares

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड लागू भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हाे । चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकोले साेही लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभएकाे छ । जिल्लाको ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएपछि दुर्घटना न्यूनिकरणका लागि उपाय खोजिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन र राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू गर्नु पर्ने निष्कर्ष निकालेको थियो ।

ट्राफिक प्रहरी पोष्ट चन्द्रौटा र पिपराबाट टाइम कार्ड प्रदान गरिने भएकाे छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय गोरुसिङ्गेमा रहेको चेक पोष्टले छड्के चेक गर्ने गरी कार्ड लागू गरेको छ । पिपरादेखि चन्द्रौटासम्म रहेको ३८ किलोमिटरको दूरी पार गर्न ट्रक र टिप्परलाई १ घण्टा, बस, कार र जिपलाई ५४ मिनेटको समय अवधि तोकिएको छ ।

निर्धारित समय भन्दा चाँडै आउने सवारी साधनलाई जरिवाना तथा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।