२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिन्धुलीको ऐतिहासिक गणेश मन्दिर संरक्षण विहीन


78
Shares

सिन्धुली । सिन्धुलीको मझुवा गाउँमा रहेकाे प्राचिन तथा ऐतिहासिक गणेश मन्दिर उचित संरक्षण र सम्बर्धनको अभावमा जीर्ण भएकाे छ ।

एक दशक अघिसम्म सोही गणेश मन्दिरमा नियमित पूजाअर्चना गर्ने श्रद्वालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दथ्यो । तर अहिले गणेश मन्दिरको स्याहार र सम्भारप्रति कसैले चासो नदिएका कारण जीर्ण भएकाे हाे । स्थानीय मझुवा गाउँबासीहरुको मात्र नभई सिन्धुली र रामेछाप जिल्लाका सर्वसाधरणहरु हरेक मंगलबारका दिनमा भाकल र पुकार बुझाउन पूजाकाे समग्रीहरु समेत लिएर हजारौं भक्तजनहरु गणेश मन्दिरमा आउने गरेका थिए । तर त्याे प्रचलन आजकल मझुवाको गणेशमन्दिरमा देखिदैन् ।

महाभारत पर्वत श्रृंखलाको काखमा अवस्थित गणेश मन्दिरमा पवित्र र शुद्व मनले भाकल र पूजा अर्चना गरे पूरा हुने जनविश्वास भने अझै पनि रहि आएको छ । करिब २ सय वर्ष पहिले स्थापना भएको मझुवा गाउँमा अवस्थित धार्मिक तीर्थस्थल गणेशस्थान त्यस भेगको ऐतिहासिक मन्दिर मानिन्छ । स्थानीय बासीन्दा बयोवृद्ध क्षेत्रबहादुर कार्कीका अनुसार सोही गणेश मन्दिरको जिर्णोद्वार गर्न हालसम्म स्थानीय तह तथा सरकारी सम्बन्धित निकाय कसैले चासो र चिन्ता नदेखाएकाले मन्दिरको उपेक्षा भइरहेको छ ।

गणेश मन्दिरको हाताभित्र गणेशकै नाममा गणेश माध्यामिक विद्यालय संचालनमा रहेको छ । तर विद्यालयको कम्पाउण्डमा रहेको गणेश मन्दिरलाई भने आजकल कसैले पनि पूजाअर्चना गर्ने गरेक छैनन् । गणेश मन्दिरको जिर्णोद्वार गर्न तथा मन्दिर आसपासमा अन्य देवीहरुको मठ–मन्दिरहरु निर्माण गरी गणेशस्थानको महिमा र महत्वलाई जोगाई राख्न आवश्यक देखिएको छ ।