
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा ‘कोसेली घर’ सञ्चालन गरिएको छ ।
वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याएका हुन् । एक कार्यक्रमकाबीच कोसेली घरकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले सबै मिलेर नै नगरको समृद्धि सम्भव रहेको बताउनुभयो ।
प्रत्येक परिवार आर्थिक रुपमा सवल र सक्षम हुनका लागि महिलाहरुको ठूलो भूमिका रहेको भन्दै उपप्रमुख तिवारीले सबै महिलाहरु अनिवार्य रुपमा उत्पादनमा जोडिनु पर्ने बताउनुभयो । उत्पादन र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउदै नगरउपप्रमुख तिवारीले कोसेली घर सञ्चालनका लागि आवश्यक बजेट तथा अन्य सहयोग गर्ने स्पष्ट पार्नुभएकाे छ ।
साेही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङमा महिला उद्यमीहरुको सक्रियता निक्कै उत्साहजनक रहेको बताउनुभयो । काम सानोबाट सुरु हुने बताउदै उहाँले जति सक्दो धेरै उत्पादन गरेमा मात्रै कोसेली घर राम्रो र उत्कृष्ट हुने बताउनुभयो ।
वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनः उत्थान तथा कोभिड-१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत महिला उद्यमी विकास समितिको सक्रियतामा कोसेली घरको स्थापना गरिएको वालिङ नगरपालिकाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्