
म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी व्यवसायिक केरा खेती गरिएको छ । बेनी नगरपालिका २ खबरा, बगरफाँट र रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा व्यवसायिक रुपमा केरा खेती गरिएको हो ।
व्यवसायिकरुपमा गरिएको केरा खेतीबाट यी गाउँका कृषकहरुले अन्नबालीको तुलनमा पाँच गुणाबढी आम्दानी गर्दै आउनु भएकाे छ । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसीसी घर ठडिएका छन् भने कृषकका छोराछोरीहरुले काठमाडाैं, पोखरा र धरानजस्ता शहरमा बसेर शिक्षाआर्जन गरिरहेका छन् ।
बेनी नगरपालिका २ खबराका कृषक शोभित शर्मा केरा खेती आफ्नो लागि आम्दानीको गतिलो माध्यम बनेको बताउनुहुन्छ ।
उहाँले केरा बिक्री गरेर वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म कमाइ हुँदै आएको बताए । करिब १४ रोपनी क्षेत्रफलको जग्गामा उहाँले केराखेती गर्नुभएको छ ।
२०६५ सालदेखि व्यवसायिक कृषिमा होमिनुभएका शर्माले १३ वर्षको यो अवधिमा तरकारी र फलफूलबाट नै युरोप अमेरिकाको कमाइ गाउँमा नै गर्दै आउनुभएको छ ।
केरा बेचेर भएको कमाइले उहाँले खबरामा भव्य आरसीसि घर बनाउनुभएको छ भने छोराछोरीलाई इन्जिनियरिङ र नर्सिङ पढाइरहनुभएको छ ।
त्यसैगरी रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले १२ रोपनी क्षेत्रफलको जग्गामा व्यावसायिक केरा खेती गर्नुभएको छ । आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेशासँगै एक हजार केराका बिरुवा लगाएको कटुवालले बताउनुभयो ।
उहाँले फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनी लगायतका प्रजातिका केरा खेती गर्नुभएको हो । उत्पादन गरेको केरा बिक्रीका लागि सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाजलगायतको क्षेत्रबाट व्यापारीहरु आउने गरेकाले विक्रिका लागि कुनै समस्या नरहेको कृषक कटुवालले बताउनुभयो ।
४ वर्षदेखि सुरु गरेको केरा खेतीबाट उहाँले वर्षमा ३ देखि ४ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । “अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले ४ वर्षदेखि केरा खेती विस्तारमा लागेको छु”, कृषक कटुवालले भन्नुभयाे । शर्मा र कटुवाल जस्तै तीन गाउँका दुईसय भन्दा बढी कृषकले अन्यवाली भन्दा केराखेतीबाट तीन गुणाबढी आम्दानी गर्दै आउनुभएको छ ।
बेनी नगरपालिका २ को खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ राखिएको छ भने बगरफाँटमा पनि लहलहै धान फल्ने खेतका गह्रामा रहरलाग्दो तरिकाले केरा खेती गरिएको स्थानीय कृषक दुर्गाबहादुर थापाले बताउनुभयो ।
उहाँले आफ्नो १७ रोपनी खेतमा ६ सय केराकाे विरुवा लगाउनुभएको छ । केरा विक्रि गरेर आगामी वर्षदेखि एक सिजनमा ३ लाख भन्दा बढी आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
खबरा, बगरफाँट र रिसिन चौतारीका प्रत्येक कृषकले केरा खेती गरेका छन् । यहाँका कृषकले एक सयदेखि तीन हजारसम्म केराका विरुवा लगाएका छन् । खबरा,बगरफाँट र रिसिनचौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ । त्यसैगरी खबरा र बगरफाँटलाई पनि केरा खेतीको पकेट क्षेत्र घोषणा गरिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्