
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै उहाँले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभएको छ ।
ज्येष्ठ नागरिक आफ्नो जीवनभरको संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उहाँले अनुभवी नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ ।
ष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्