७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मुस्ताङमा बाढी–पहिराले पर्यटक अलपत्र


455
Shares

म्याग्दी । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले मुस्ताङ घुम्न गएका पर्यटकहरु बीच बाटोमा नै अलपत्र परेका छन् ।

दशैं तिहारको बिदामा मुस्ताङ घुम्न गएका पर्यटकहरु अलपत्र परेका हुन् ।

मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ ।

अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूलाठूला ढुङ्गा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

पाँच दिनदेखिको प्रतिकूल मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाई उडानसमेत नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रजिअ शर्माले मुस्ताङको मार्फाको फाराम खोलामा आएको बाढीले शीतोष्ण बागवानी विकास केन्द्र आसपासको क्षेत्रमा बाढी पसेर समस्या भएको बताउनुभयो । उहाँले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र कामदार दशैं मनाउन बिदामा गएकाले मेशिन प्रयोग गरेर फाराम खोलाको बाढी तर्काउने काम गरिए पनि मेशिन सानो भएकाले समस्या भएको जानकारी दिनुभयो ।

यसैबीच पाँच दिनदेखिको प्रतिकूल मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाई उडानसमेत नहुँदा पर्यटक समस्यामा परेका छन् । खराब मौसमले गर्दा हवाई उडान नहुँदा मुस्ताङ भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटक, पदयात्री, साइकलयात्री मुस्ताङमै रोकिएको प्रजिअ शर्माले बताउनुभयो ।

बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेर सडक बन्द भएपछि मुस्ताङमा रहेका पर्यटकलाई जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षित रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।