७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार


1.079k
Shares

काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ ।

आयोजक भियतनामविरुद्ध शुक्रबार फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा नेपाल ५–० को फराकिलो अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ मै नेपालले ४ गोल खाएकोमा दोस्रो हाफको अन्तिममा पुनः अर्को गोल खाएर ५–० ले पराजित हुन पुगको हो ।

भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे ।

सातौं मिनेटमै पहिलो गोल गरेको भियतनामले २९ मिनेटसम्म चार गोल गरेको थियो । दोस्रो हाफमा नेपाली टोली सम्हालिएपनि अन्तिम समयमा पुनः एक गोल बेहोर्न बाध्य बन्यो ।

थाइल्यान्डसँगको पहिलो खेल पनि नेपालले ३–० ले गुमाएको थियो । समूह एफमा लगातार दुई जितका साथ भियतनाम शीर्षस्थानमा रहेको छ । समान ६ अंकका साथ थाइल्यान्ड दोस्रो स्थानमा रहँदा नेपाल र चाइनिज ताइपे अंक बिहिन रहेका छन् ।

छनोट अन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।