
काठमाडौं । मधेश प्रदेशसभाको ५ वर्षको अवधिमा ९ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् ।
मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले ५ वर्षको उपलब्धिकाे विषयमा जानकारी दिंदै प्रदेशसभाको ९ वटा अधिवेशनमा दुई सय २८ बैठक, ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेशसभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणिकरण समेत भएको बताउनुभयाे । उहाँले पारित हुन बाँकी ६ विधेयक विचाराधीन अवस्थामा प्रदेशसभा सचिवालयमा रहेको बताउनुभयो ।
प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभा कार्य सञ्चालन आन्तरिक कार्यविधिको रूपमा ‘प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५’ पारित गरी सभाको सञ्चालन एवं कामकारबाही व्यवस्थित हुँदै आएको सभामुख यादवले बताउनुभएकाे छ । सभामुख यादवले विचाराधीनमध्ये ५ विधेयक विभिन्न समितिमा छलफल गरी प्रतिवेदन सभामा पेश गर्ने अवस्थामा रहेको भएपनि नबाैं अधिवेशन अन्त्य भइसकेकाले उक्त प्रतिवेदन पेश हुन नसकेको बताउनुभयाे ।
प्रदेशसभाले आफ्नो कामकारबाही व्यवस्थित गर्न ७ विषयगत समिति गठन गर्नुका साथै समय-समयमा विशेष समिति गठन गरी प्रभावकारी रूपमा व्यवस्थित गर्दै आएको सभामुख यादवकाे दावी छ । प्रदेशसभाले सरकारको ६ नीति तथा कार्यक्रम, ६ वटा बजेट र दुई पटक विश्वासको मत सम्बन्धमा छलफल गरी निर्णय गर्नुका साथै यसै अवधिमा प्रदेशको राजधानी र नामको प्रस्ताव २०७८ माघ ३ गते दुई तिहाई भन्दा बढी मतले पारित भएको उहाँकाे तर्क छ ।
उहाँले प्रदेशसभाको आफ्नो र सुविधा सम्पन्न भवन नभएका कारणले कोरोना महामारीपछि प्रदेशसभाको बैठकमा पत्रकार तथा सर्वसाधारणलाई प्रवेश गराउन नसकिएको स्वीकार गर्नुभयाे । उहाँले नयाँ भवनको निर्माण भएपछि सबै व्यवस्था हुने बताउनुभयो ।
नेपालको संविधान जारी भएपछि २०७४ साल मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा निर्वाचन पश्चात निर्वाचित भएका प्रदेशसभा सदस्यको २०७४ साल माघ ७ गते शपथ भएर सोही महिनाको २१ गते प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभाको कार्य थालनी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्